राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले आठौँ साधारणसभाका अवसरमा समाजद्वारा प्रकाशित मुखपत्र ‘माटाेकाे ममता’ को दोस्रो संस्करणको आज लोकार्पण गरिएको छ ।
नुवाकोटको ककनी गाउँपालिकास्थित पर्यटकीयस्थल ककनी डाँडोमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, नेपाल सरकारका पूर्वसचिव रामप्रसाद थपलिया, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम केसी, समाजका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, समाजका अध्यक्ष उदयबहादुर राना मगर लगायतले पुस्तकको लोकार्पण गर्नुभयो ।
सोही कार्यक्रममा समाजले प्रकाशन गरेको वर्ष २०८३ को भित्तेपात्रो पनि विमोचन गरियो । नुवाकोटमा जन्म तथा बासिन्दा भई निजामतीलगायत राष्ट्रसेवाका विभिन्न निकायमा कार्यरत कर्मचारीको सो संस्थाले राष्ट्रसेवामार्फत सामाजिक कार्यमा योगदान दिन २०७१ सालमा सो समाजको स्थापना भएको हो ।